च्याट जीपीटी : कृत्रिम बौद्धिकतामा मानवीय हस्तक्षेप!

लोकपाटी न्यूज
22 Shares

कृत्रिम बौद्धिकता आधुनिक कम्प्युटर विज्ञानको प्रोग्रामिङ वा कोडिङ भाषाका आधारमा तयार गरिन्छ। कम्युटर कोडको यो भाषाभित्र एउटा जटिल सञ्जाल युक्त संयन्त्र हुन्छ। यो संयन्त्र मानिसको दिमाग जस्तै गरी तयार गरिएको हुन्छ। त्यही रहस्यात्मक पक्षलाई नै हामी कृत्रिम बौद्धिकता (एआई) भन्दछौ। कृत्रिम बौद्धिकता मानव जस्तै गरी गैरमानव व्यवहार गर्ने यन्त्र हो। एआई विज्ञानको त्यस्तो शाखा हो, जसलाई कृत्रिम तरिकाबाट विकसित गरिएको बौद्धिक क्षमता हो।

यन्त्रले समय-परिस्थिति आदिको विश्लेषणपछि कुनै निर्णय लिन्छ भने यन्त्रको यो अवस्थालाई एआई भनिन्छ। मानिसझैँ सोच्न र मानवीय संज्ञानात्मक क्षमता नक्कल गर्नको लागि यसलाई प्रोग्रामिङमार्फत् बनाइन्छ। यसको अर्थ, मानव मस्तिष्कसँग जोडिएका सोच्ने, बुझ्ने, सिक्ने र समस्या समाधान गर्ने लक्षणलाई यसले प्रकट गर्छ। यसमा यन्त्रलाई आफ्नो आचरण विपरीत प्राकृतिक रूपमा व्यवहार गर्नका लागि बनाइन्छ।

के हो कृत्रिम बौद्धिकता ?

विज्ञानको उन्नतिसँगै मानिसले बौद्धिकताको क्षेत्रमा पनि आफ्ना अनुभव र आकांक्षाबाट कृत्रिम बौद्धिकताको विकास गरेको हो। कृत्रिम बौद्धिकताले मुख्य गरी ज्ञान, विचार, समस्या समाधान, अनुभूति, योजना निर्माण र वस्तुहरूमा हेरफेर तथा स्थानान्तरितको क्षेत्रमा हुने कामलाई जटिल कामलाई सहज बनाउँछ। सन् २०२२ मा जेनेरेटिभ प्रिट्रेन्ड ट्रान्सफर्मर अर्थात् जीपीटीको प्रयोगको व्यापकतासँगै कृत्रिम बौद्धिकतालाई मुख्य धाराको रूपमा लिएको देखिन्छ। यो प्रविधिमा आधारित सबैभन्दा लोकप्रिय एप्लिकेसन ओपन एआईको च्याट जीपीटी हो।

कृत्रिम बौद्धिकता विभिन्न उद्योग र दैनिक जीवनमा गहिरो प्रभाव पार्ने एक परिवर्तनकारी क्षेत्रका रूपमा उदाएको छ। च्याट जीपीटीप्रति बढ्दो आकर्षणले यसलाई धेरै उपभोक्ताको मनमा एआईको पर्याय बनाइदिएको छ। यद्यपि, यसले कृत्रिम बौद्धिकताको केवल एउटा सानो अंशको मात्रै प्रतिनिधित्व गर्छ। कृत्रिम बौद्धिकता प्रविधि अत्यन्त विस्तृत क्षेत्र हो। कृत्रिम बौद्धिकताका प्रणेतामध्ये एक कम्प्युटर वैज्ञानिक जोन मेकार्थीकाअनुसार यो विशेष रूपले बौद्धिक कम्प्युटर प्रोग्राम बनाउने विज्ञान र इन्जिनियरिङको क्षेत्र हो। अर्थात् यन्त्रद्वारा प्रदर्शित गरिएको बौद्धिकता हो एआई।

कृत्रिम बौद्धिकता कम्प्युटर विज्ञानको उपक्षेत्र हो, जसका जरा पूर्णरूपले कम्प्युटर प्रणालीमा आधारित छन्। कृत्रिम बौद्धिकताको अन्तिम लक्ष्य बुद्धिमानीपूर्वक, नियमबद्ध र स्वतन्त्र रूपले मानवीय काम गर्ने उपकरणको निर्माण गर्नु हो। यसमा कम्प्युटर र कम्प्युटरद्वारा नियन्त्रित रोबोटले सामान्यतः मानिसद्वारा गरिने कार्य हुन्छ।

यसले मानव बुद्धिको नक्कल गर्नका लागि ‘मेसिन लर्निङ’को उपयोग गर्छ। सिरी, एलेक्सा, टेल्सा कार र नेटफ्लिक्स, एमेजनजस्ता डिजिटल एप्लिकेसन एआई प्रविधिका उदाहरण हुन्। बौद्धिक रोबोट, कम्प्युटर गेमिङ, भाषाको पहिचान, विशेषज्ञ प्रणाली, प्राकृतिक भाषा प्रोसेसिङ, भिजन सिस्टम, आदि कृत्रिम बौद्धिकताका अन्य उदाहरण हुन्। कृत्रिम बौद्धिकतालाई अहिले मानिसले यति विकसित बनाएका छन् कि मानिसको मस्तिष्कको धेरै गुणा तीव्र र सटीक कार्य सुपर कम्प्युटर तथा रोबोटद्वारा गराइन्छ।

एआईको उद्देश्य धेरै मात्रामा डाटा संशोधन गर्न, प्याटर्न पहिचान गर्न तथा विशिष्ट लक्षण प्राप्त गर्न वा समयसँगै प्रदर्शनमा सुधार गर्नका लागि नयाँ जानकारी अपनाउनमा एल्गोरिदम र मोडेल विकसित गर्नु हो। कृत्रिम बौद्धिकताको आदर्श विशेषता कुनै विशिष्ट लक्ष्य प्राप्त गर्ने सबैभन्दा राम्रो सम्भावनायुक्त तर्कसंगत कार्य गर्नु हो।

कृत्रिम बौद्धिकताअन्तर्गत पर्ने मेसिन लर्निङ (एमएल), डीप लर्निङ (डीएल), रोबोटिक्स, वेरेबल टेक्नोलोजी इन्टरनेट अफ थिंग्स (आइओटी) इत्यादि विभिन्न क्षेत्र कृत्रिम बौद्धिकता प्रविधिकै अन्य उपशाखा हुन्। यी सबै क्षेत्रमा गरिने विभिन्न प्रयोगलाई एकीकृत रूपमा कृत्रिम बौद्धिकता प्रविधिअन्तर्गत सामेल गरिन्छ। मुख्यरूपले यी प्रयोग मानवीय जीवनलाई सहज र सरल बनाउनेतिर प्रेरित हुन्छन्।

एआई एमएल र डिएल एकअर्काको स्थानमा उपयोग हुन्छन्। तर पनि यिनीहरूमा अन्तर छ। डीप लर्निङ प्रविधिले धेरै मात्रामा संरचित डाटा (टेक्स्ट, चित्र वा भिडियोको माध्यमबाट अटोमेटिक लर्निङलाई सक्षम बनाउँछ। मेसिन लर्निङ न्यूनतम मानव हस्तक्षेपसँगै स्वचालित रूपले अनुकूलित हुनसक्छ। यसले भविष्यवाणी मोडल बनाउनका लागि कम्प्युटर एल्गोरिदम र एनालिटिक्सको उपयोग गर्छ। यसको प्रयोग प्याटर्नको खोज गर्न एल्गोरिदमको उपयोग गरी त्यो डाटाबाट अन्तर्दृष्टि प्राप्त गर्नको लागि गरिन्छ।

कृत्रिम बौद्धिकताको खोज कार्य

कृत्रिम बौद्धिकताको खोज कार्य सन् १९२३ देखि नै भएता पनि सन् १९५० को दशकबाट यसमा बढी काम भयो। अमेरिकी वैज्ञानिक जोन मेकार्थीले १९५६ मा गरेको डर्टमाउथ सम्मेलनपछि मात्र कृत्रिम बौद्धिकताको क्षेत्रमा नयाँ मोड आएको हो। यही सम्मेलनमा कृत्रिम बौद्धिकता शब्दको रचना भयो र यसको अवधारणामाथि चर्चा भयो। यसले कम्प्युटरको क्षेत्रमा शोध र नयाँ खोजलाई धेरै बढवा दियो।

कृत्रिम बौद्धिकता शब्दको रचना गर्ने जोन मेकार्थीलाई एआईको खास प्रणेता मानिन्छ। सन् १९५८ मा मेकार्थीले कृत्रिम बौद्धिकताको लागि प्रोग्रामिङ ल्याग्वेजको विकास गरे। यसपछि वैज्ञानिकहरूले विभिन्न कृत्रिम बौद्धिकता प्रणाली र एल्गोरिदमको विकासमा काम गरे।

सुरुको दशकमा लजिक र सम्बन्धित गणितीय विधिहरूको उपयोगबाट निर्देशित समस्याहरूलाई हल गर्न सक्षम केही कम्प्युटर प्रोग्राम बनाइएका थिए। १९६० देखि १९८० सम्म कृत्रिम बौद्धिकताको क्षेत्रमा विभिन्न आविष्कार भइरहे, तर कृत्रिम बौद्धिकताको विकासमा सन् १९८१ मा जापानद्वारा एआई प्रविधिको प्रयोग गरी पाँचौं पुस्ताको कम्प्युटर बनाउने घोषणा धेरै महत्त्वपूर्ण थियो।

त्यसका लागी दस वर्षीय कार्यक्रमको रूपरेखा प्रस्तुत गरियो। ब्रिटेनले जापानसँग प्रतिस्पर्धा गर्न एलबी प्रोग्रामको घोषणा गर्‍यो। युरोपियन युनियनले पनि एस्प्रिट नामक योजना घोषणा गर्‍यो। सन् १९८३ मा यो समूहले धेरै ठूलो परिमाणमा एकीकृत सर्किट (भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट) को विकासको लागि माइक्रो इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर टेक्नोलोजी नामक संयुक्त औद्योगिक संस्थानको स्थापना गर्‍यो।

बौद्धिकताको लागि युगान्तकारी

सन् १९९० देखि २००० को बीचको दशक कृत्रिम बौद्धिकताको लागि युगान्तकारी रह्यो। सन् २००५ देखि २०१९ को बीचमा आजको प्रगतिको आवाजको पहिचान, रोबोटिक प्रोसेस अटोमेसन (आरपिए), डान्सिङ रोबोट, स्मार्ट हाउस र अन्य धेरै चीजहरूको आविष्कार भएको थियो।

२०१० मा वर्तमान नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको उपयोगबाट कम्प्युटरलाई भाषा बुझ्ने र संवाद गर्ने क्षमता प्राप्त भएको हो। च्याट जीपीटी प्रविधि यसैमा आधारित छ। यसको अतिरिक्त कम्प्युटर, इन्टरनेट, सिलिकन चिप र मेमोरीको स्वरूपले पनि कृत्रिम बौद्धिकताको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ।

कृत्रिम बौद्धिकताकामा मानवीय हस्तक्षेप

कृत्रिम बौद्धिकताका विभिन्न प्रकार छन्। कृत्रिम बौद्धिकतालाई त्यसको कार्यशैलीको आधारमा बलियो कृत्रिम बौद्धिकता र कमजोर कृत्रिम बौद्धिकता गरी दुई वर्गमा विभाजित गरिन्छ। बलियो कृत्रिम बौद्धिकताले प्रविधि समर्थित यन्त्रहरूद्वारा मानिसले गर्नसक्ने सबै कतिपय काम गर्न सक्षम हुन्छ। अर्थात् यसद्वारा कार्य गर्नेक्रममा मानवीय हस्तक्षेप लगभग नगण्य हुन्छ।

यस प्रकारको कृत्रिम बौद्धिकतालाई पूर्ण कृत्रिम बौद्धिकता पनि भनिन्छ। यो मानव समान कार्य गर्ने अत्यन्तै जटिल प्रणाली हो। यसको प्रयोग स्वचालित कारमा देखिन्छ। प्रविधि समर्थित यन्त्रहरूद्वारा मानिसले गर्ने सबै कामहरू गर्न कमजोर कृत्रिम बौद्धिकता भने सक्षम हुँदैन। अर्थात् यहाँ यन्त्रद्वारा कार्य सम्पादन गर्नेक्रममा बीचबीचमा पर्याप्त मानवीय हस्तक्षेपको पनि आवश्यकता हुन्छ।

कार्य प्रणालीको आधारमा विभाजन

यसको प्रयोग कुनै विशिष्ट वा सीमित क्षेत्रसम्म हुन्छ। अहिले उपयोग भइरहेको कृत्रिम बौद्धिकताको प्रचलित नाम सीमित कृत्रिम बौद्धिकता (न्यारो एआई) हो। यस प्रकारको एआईलाई विशिष्ट कार्यहरू वा एकल विचार सीमाको लागि बनाइन्छ र प्रशिक्षित गरिन्छ। गुण र कार्य प्रणालीको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजित गरिएको देखिन्छ।

आजका दिनसम्म मानिसले धेरै हदसम्म कृत्रिम बौद्धिकतामा आफ्नो निर्भरता कायम गरिसकेको छ। आउने समयमा यो निर्भरता यति बढ्नेछ कि कृत्रिम बौद्धिकताबिना मानव जीवन असम्भवजस्तै पनि हुनसक्छ। कृत्रिम बौद्धिकताको प्रयोग बढ्दै गएपछि मानवका लागि यो झनै खतरापूर्ण बन्नेछ। तिनै कुरा मनन गर्दै वैज्ञानिकहरू यसलाई मानव कल्याणका लागि सर्वोत्तम रूपले प्रयोग गर्ने गरी र मानव विनाशको कारण नबन्ने गरी यसको विकास र नियन्त्रणमा जुटेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्