अनौपचारिक शिक्षा अझै किन पछाडि ?

लोकपाटी न्यूज
0 Shares

नागरिकले पढ्न पाउने अधिकारलाई नेपाल सरकारले मौलिक अधिकारको रूपमा स्वीकार गरेको छ। यो अधिकार प्राप्तिका लागि औपचारिक र अनौपचारिक दुई किसिमका शिक्षा प्रणालीको विकास गरिएको छ। औपचारिक अन्तर्गत विद्यालय, क्याम्पस, मदरसा, गुम्बामा निर्धारित विषय तोकी पाठ्यसामग्री तयार गरी वैज्ञानिक विधि र सिद्धान्तको आधारमा स्तरअनुसारका जनशक्ति तयार गर्ने लक्षका साथ राज्यले त्यसमा ठूलो लगानी गरिरहेको छ।

सम्पन्न राष्ट्र निर्माणका लागि चाहिने उच्चस्तर र राष्ट्रको आवश्यकता सम्बोधन गर्न सक्ने उच्च स्तरको जनशक्ति तयार गर्ने योजनाका साथ पाठ्यक्रम तयार गरी ती पाठ्यक्रम पढाउने तरिका र त्यसबाट निकाल्ने उपलब्धिका बारेमा पनि औपचारिक शिक्षामा पाठ योजना साथ उल्लेख गरिएको हुन्छ। पढाउन जानेले पनि त्यही हैसियतको जनशक्ति विकास गर्ने लक्षका साथ पाठ योजना तयार गरी शिक्षण सिकाई अभ्यासको विकास गरेका हुन्छन्। सिकाइ क्रियाकलापमा सहभागी शिक्षकहरूलाई पनि पाठको मर्म खुल्लाउन सक्ने विधि र सीपका लागि तालिम दिएर दक्ष बनाउन खोजिएको हुन्छ।

शिक्षण पेसा प्राविधिक विषय

शिक्षण सिकाई विधि एक कला हो। कला आफैमा प्राविधिक विषय हो। सिकाइ भन्नाले सिक्ने र सिकाउने कुरालाई जनाउँछ। अर्थात् लिने र दिने। कसरी लिने, कसरी दिने यो प्राविधिक पक्ष हो। कुशल शिक्षण सिकाइका लागि प्रविधिको आवश्यकता पर्दछ। प्रविधि युक्त शिक्षाले बहुमुखी शिक्षण सिकाइ क्रियाकलापको प्रतिनिधित्व गर्दछ र बहुमुखी र प्रतिभायुक्त जनशक्ति तयार गर्दछ।

यिनी कुराहरूलाई दृष्टिगत गरी समयअनुसार विश्व जनशक्तिसँगको प्रतिस्पर्धामा अब्बल जनशक्ति विकास गर्ने रणनीतिका साथ विभिन्न क्षेत्र र विषयहरूको सघनरूपमा अध्ययन गर्ने र सोबारे विज्ञता हासिल गर्ने किसिमका स्रोत सामग्रीहरू औपचारिक शिक्षण सिकाइ पाठ्यक्रममा व्यवस्थित रूपमा राखिएका हुन्छन्। ती स्रोत सामाग्रीका मूलमर्म र भावनाअनुरूप गुणस्तर युक्त शैक्षिक जनशक्ति तयार गर्न शिक्षकहरूलाई प्राविधिक जनशक्तिको रूपमा विकास गरिएको हुन्छ। र पनि शिक्षण सिकाइ क्रियाकलाप एक प्राविधिक विषय बन्न पुगेको हुन्छ।

कार्यक्रममुखी बनेको सिकाइ

सिक्ने काम आफैमा कठिन हो, त्योभन्दा झन् चुनौतीपूर्ण कार्य भनेको सिकाउनु हो। यी दुवै मानव जीवनको बहुमुखी व्यक्तित्व विकासका लागि उत्तिकै महत्त्व राख्दछन्। सिकाउने कसरी, कुन विधि, तौरतरिका वा माध्यमबाट ? वा कस्तो साधन प्रयोग गर्ने र त्यसलाई कस्तो कला, सिप र शैलीले सिकाउँदा सिक्नेका मन, मस्तिष्क र भावनाबाट नै त्यसलाई बुझ्न कोसिस गर्दछ भन्ने कुराले शिक्षण सिकाइको प्रभावकारिता र गुणस्तरीयता महत्त्व राख्दछ। यसका लागि राज्यले पनि ठूलो लगानी गरेको छ, तर लगानी प्रतिफलमुखी हुनु भन्दा कार्यक्रममुखी मात्र भएको अहिलेको अवस्थाले देखाउँछ।

कार्यक्रममुखी सिकाइ कलाको विकासले देशमा बेरोजगार जन्माएको छ। युवा तथा बौद्धिक जनशक्तिको विदेश पलायन गराएको छ। राष्ट्र राष्ट्रियताको भावना कमजोर देखिएको छ। युवाहरू व्यवहार बोध गर्न नसक्नु, आफ्नै देशभित्र आफ्नो भविष्य नदेख्नु जस्तो सोच विकास हुनु जस्ता कुरा यो देशका शैक्षिक चुनौती हुन्। जुन देशका बल र बुद्धि नै विदेश पलायन हुन्छ भने त्यो देशले कहिले विकासको सपना देख्न सक्छ ? यसबारे शिक्षाको नीतिगत तहमा केही कुरा उठे पनि व्यवहारमा त्यो देखिने गरी काम हुन सकेको छैन। किनकि आज शिक्षा व्यक्तिहरूको सम्पत्ति कमाउने थलोको रूपमा विकास भएको छ। जसरी घरजग्गा कारोबारलाई व्यापारीहरू हेर्दछन्, त्यही व्यापारको फाइदाको दरमा शिक्षा र स्वास्थ्य पनि लिएको पाइन्छ। यो भयो औपचारिक शिक्षाको आजको सामान्य रूपमा देखा परेको समस्याहरू र त्यसले निम्त्याएका चुनौती।

अनौपचारिक शिक्षा

अब हामी अनौपचारिक शिक्षा क्षेत्रको कुरा गरौं। ज्ञानको विशाल क्षेत्र ओगटेको र मौलिक हकको रूपमा स्थापित निरन्तर शिक्षा जसलाई जीवन पर्यन्त शिक्षा पनि भन्ने गरिन्छ। यो राज्यको कम प्राथमिकता परेको शैक्षिक क्षेत्र हो। राज्यको लगानी गौण र अपारदर्शी पनि देखिन्छ। किनकि जुन लगानीमा निश्चित लक्ष उद्देश्य र प्रतिफलको आधारविना गरिन्छ, त्यो अपारदर्शी नै हुन्छ। अनौपचारिक शिक्षा त्यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट मानव जीवनमा मानिसले प्राप्त गर्ने झन्डै ७० प्रतिशत ज्ञान र शिक्षा प्राप्त गर्दछ।

औपचारिक शिक्षाले त ३० प्रतिशत क्षेत्रमात्र ओगटेको बताइन्छ। जीवनमा प्राप्त ज्ञानको दुई तिहाइभन्दा बढी भाग ओगटेको अनौपचारिक शिक्षा क्षेत्रको पाटोमा राज्यले जति र जसरी ध्यान दिनपर्ने थियो, त्यसरी ध्यान दिएको पाइँदैन। अनौपचारिक शिक्षाको क्षेत्रका लागि औपचारिकता मात्र पुरा गर्ने सोचअनुरूप सरकारका काम कारबाही भएको पाइन्छ। त्यसमा पनि निश्चित व्यक्ति वा समूह मिलेर यसलाई आफ्नो पकडको विषय बनाइ यसको व्यापकता र सान्दर्भिकतालाई कुण्ठित गर्ने काम पनि भएको अवस्था छ।

देशको सर्वाङ्गीण विकासमा अनौपचारिक शिक्षा क्षेत्रलाई समाहित गर्ने हो भने देशको आन्तरिक व्यवस्थापनका नयाँ कला र समुदायमा बहुआयमीक सिर्जशीतलाको उदय हुने थियो। पुरातनवादी सोच चिन्तनले अबको समुदायमा शोषण गर्न नसक्ने अवस्था सिर्जना हुन्थ्यो। कला संस्कृति र साहित्यहरूले नयाँ आकार पाउँथे। समुदायका हरेक सदस्यहरूले आफूले आफैलाई चिन्न, जान्न, बुझ्न र आफैँ आफ्नो खुट्टामा उभिन सक्ने बन्दथे। आफ्नो प्रतिभा र क्षमता पहिचान गर्न पाउँथे। यी क्रियाकलापले समाजको हैसियतलाई उँचा बनाउँदथ्यो।

बेरोजगार र अभाव हराउँदै जान्थे। मानिसलाई समय र श्रमको मूल्य बोध हुन पुग्दथ्यो। आर्थिक र सामाजिक र राजनीतिक क्षेत्रमा अवसर र उपलब्धिहरू देखा पर्दथे। मानिसले आफ्नो क्षमताको भरपुर प्रयोग र उपयोग गर्न पाउँथ्यो। समाजले कोल्टो फेर्दथ्यो र नयाँ सभ्यताको सुरुवात हुन्थ्यो।

शैक्षिक नीति निर्माण कर्तारहरूले समय चिन्न जरुरी छ। मूल समस्यामा पुग्न जरुरी छ। युवा पलायन रोक्ने सोच निर्माण गर्न जरुरी छ। माटोको मूल्यबोध गराउने शिक्षा चाहिएको छ। मानव जीवनको विशाल सम्भावना बोकेको जीवन पर्यन्त सिकाइको प्रतिनिधित्व गर्ने अनौपचारिक शिक्षाले यो अभाव पुरा गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। शिक्षाको महत्वलाई बुझेर त्यसको मर्म र भावनाअनुरूप विषय र सन्दर्भअनुरूपका क्षेत्रहरू पहिचान गरी क्षेत्रगत रूपमा समस्याहरू एकीकृत गरी निश्चित आधार र आवश्यकताअनुसार व्यवस्थापन हुने गरी नीति निर्माण गर्न जरुरी छ। यसको सान्दर्भिकता र महत्वको आधारहरू पहिल्याउँदै त्यसको जगमा समाज पुनर्जागरणको अभियान गर्न सकिन्छ भन्ने कुरामा नीति निर्माण कर्तारहरू विश्वस्त हुन जरुरी छ।

युवाहरूलाई स्वरोजगार प्रदान गरी आफ्नै समुदायमा रहेर आफ्नो व्यक्तित्व विकास गर्न सक्ने वातावरण तयार गर्न वा गरिबी निवारणका मामिला हुन वा आधारभूत आवश्यकता परिपूर्तिका सवाल हुन् अनौपचारिक शिक्षामार्फत सहजरूपमा हल हुने कुरामा कुनै शंका गर्ने हैन यसबाट नीति निर्माण गरेर अगाडि बढ्न जरुरी छ। बंगलादेशले अनौपचारिक शिक्षाका कारण समुदाय कसरी रूपान्तरण गरिरहेछ। जापानमा अणुबमले ध्वस्त पारेको जापानी समाजको मनस्थिति उठाउन अनौपचारिक शिक्षालाई कसरी प्रयोग गरिएको थियो र सफल भयो। यो कुरा पहिला बुझ्न जरुरी छ। अन्य देशका व्यवहारिक प्रयोगबाट सिकेर भए पनि देश अनुरूपको शिक्षा प्रणाली अवलम्बन गर्न जरुरी छ।

कम प्राथमिकतामा परेको

अनौपचारिक शिक्षा क्षेत्र आज हाम्रो नीति निर्माण कर्ताका निकै कम प्राथमिकतामा परेको क्षेत्र हो। जसका कारण समुदायका मानिसहरूमा सामुदायिक उत्तरदायित्व जस्ता भावना गौण बन्न पुगेका छन्। समुदायका मर्म र आवश्यकता पहिचान गरी सोहीअनुरूप समाधानका विकल्पहरूको खोजी गर्ने कुनै निकाय छैन। सामुदायिक विकास र स्थानीय स्रोत साधन पहिचान र परिचालन जस्ता कुराहरू अत्यन्त पछि परेका छन्। उपभोग्य सामाग्रीमा हुने गरेका गलत सूचना र भड्किला विज्ञापन सम्प्रेषणले गाउँ, बस्ती र समुदायको स्वास्थ्य क्षयीकरण गरेको छ। आर्थिक र नैतिक स्तर गुमाएको छ। वाह्यि हाउगुजी बेजोडले बढिरहेको छ। हाम्रो समाजमा अपनत्व र आफ्नापनहरू हराउँदै गएको अवस्था छ।

अनौपचारिक शिक्षा क्षेत्रको त्यो विशाल फाँट आज बाँझो जस्तै छ। यसका क्षेत्र र सीमाहरू खोजिएको छैन, यसका पक्ष र पाटाहरू खोतलिएका छैनन्। कमजोर शैक्षिक चेतना र जागरण, भौतिक पूर्वाधार र विकासका पक्षहरू परिणाममुखी बन्न नसक्नु, राज्य पछौटेपनबाट गुज्रनु जस्ता कुराहरू यसैको परिणाम हुन्। यसको मर्म मूल्य र मान्यता न त बुझाउने बुझाउन सकेको छ, न त बुझ्नेले बुझ्न सकेको छ। किनकि, अनौपचारिक क्षेत्रले प्राथमिकता पाउनु भनेको, त्यो देशको आर्थिक सामाजिक राजनैतिक हैसियतमा वृद्धि हुनु पनि हो। र, समाज आफ्नोपन बोकेको आधुनिक सभ्यतातर्फ लम्कनु हो।

परिवर्तनशील समय, परिवर्तनशील समाज, द्रुतगतिले भइरहेको विज्ञान र प्रविधि क्षेत्रको परिवर्तन र त्यसले जन्माएको विश्व समाज। जसलाई छिनछिनमा नियाल्न आवश्यक छ, हरपलका ज्ञानहरूले सुसज्जित हुन आवश्यक छ। जसका कारण प्रतिस्पर्धात्मक विश्व व्यवस्थालाई हत्केलामा राखेर नियाली प्राप्त ज्ञानलाई आफ्नो मौलिकतामा ढाल्दै, नयाँ संस्कार संस्कृति र मौलिक सभ्यता निर्माणमा जुट्न आवश्यक छ। यी उपलब्धिहरूलाई आत्मासाथ गर्दै हामीले पनि हाम्रो देश परिवेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउँदै अगाडि लान जरुरी छ। विकासले दिएका ज्ञान सिप र प्रविधिलाई परिवर्तनसँग जोडेर आफ्ना मूल्य, मान्यताहरूलाई सजाउन र जीवन्त बनाई राख्न जरुरी छ।

अनौपचारिक क्षेत्रका लगानी निश्चित उद्देश्यका लागि तय गरिनुपर्छ। हिजो यो क्षेत्र बेवारिसे बन्न पुग्यो। प्रशासनको कमाउने र यससँग आबद्ध संस्थाको समेत गलत डाटा निकालेर बजेट सक्ने काममा मात्र प्रयोग हुन पुग्यो। कारण, संवेदनशील मुद्दाहरूपछि परे। गलत मुद्दा र मान्यता स्थापित हुन पुगे। सजिलो र अपारदर्शी खर्च व्यवस्था रहन पुग्यो। गलत संस्कृतिले प्रोत्साहन पायो। अनौपचारिक क्षेत्रका विशाल सम्भावना एकातिर पन्छाएर नाराका लागि नारामा मात्र सीमित रहन पुग्यो। अब यो पद्धतिको आमूल परिवर्तन आवश्यक छ।

लगानी बालुवामा पानी

हिजो अनौपचारिक क्षेत्रका महत्त्वपूर्ण कामहरूको व्याख्या गरिए, तर कार्यक्रममा समावेश गरिएन। देखाउने दाँत एक भयो, चपाउने दाँत अर्कै। समग्र जीवनको समग्र पक्ष र पाटाहरू छुने ज्ञानको विशाल क्षेत्र भएको अनौपचारिक शिक्षाको पहिचान गर्न नसकेको कारण राज्यले अन्य क्षेत्रबाट जति रकमको खोलो बगाए पनि समुदाय त्यसको कुनै प्रतिफल प्राप्त गर्न सकेन। कारण, समुदायहरू सूचनाविहीन, प्रविधिविहीन, सिप साधनविहीन, गरिबी, चेतना अभाव र प्रविधि अभावबाट पिल्सिनै रह्यो।

निरक्षरताका नाममा अनुदान लुट्ने होडबाजी मात्र हुन पुग्यो। अरबौँ लगानी बालुवामा पानी साबित हुन पुग्यो। सायद राज्यले पनि अनौपचारिक शिक्षाको चासो बहिरी जगतको चासो सोच्यो। किनकि, हिजो यसका जे-जति लगानी भयो, राज्यले विदेशी सहयोग वा त्यसको समपूरक व्यवस्थापनका लागि लगानी गर्‍यो। आज पनि सायद अनौपचारिक शिक्षा भन्ने कुरा विदेशीदाताकै अनुदानमा चलाउने विषय भन्ने ह्रयाङओभर नगएको प्रतीत हुन्छ।

मानव जीवनको महत्त्वपूर्ण पक्ष

मानव जीवनको महत्त्वपूर्ण पक्ष शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुन नदिनु हो। हाम्रो समुदायका विपन्न गाउँ बस्तीहरू जहाँ शिक्षाको रोशनी सम्म पुग्न सकेको छैन। शिक्षा पुगेर पनि सबै तह र तप्कामा पुग्न सकेको छैन। शिक्षाको अभावमा आफ्ना क्षमताहरू कुण्ठित बनिरहेको अवस्था। स्रोत साधन खेर गइरहेको अवस्था छ। यस्तो स्थितिको अन्त गर्न अनौपचारिक शिक्षाको आवश्यकता पर्दछ। उमेर ढल्किसकेपछि कोही पनि व्यक्ति विद्यालय जान सक्दैनन्।

विद्यालयहरूमा एकाध ठाउँ समय बाहेक उमेर समूहको पाबन्दी आफसे आफ लागू हुन्छ। बालबालिकामा पढ्न पाइन, अब म कक्षा भर्ना हुन्छु भन्दा सहज हुँदैन। शिक्षाको अवसरबाट वञ्चित हरेक व्यक्तिहरूका लागि प्रदान गरिने शिक्षा भनेकै अनौपचारिक शिक्षा हो। त्यसैले अनौपचारिक शिक्षा औपचारिकभन्दा फरक प्रकृतिको हुन्छ। यसमा थाहा पाएका तर नबुझेका कुरा बुझाउन आवश्यक हुन्छ। यसका साथै मानिसको अनुभव र त्यसबाट प्राप्त ज्ञानलाई अझ उजागर गर्ने र उनीहरूलाई कक्षामा पढिरहेको छु भन्ने भावनाभन्दा काम गरिरहेको अनुभूति दिलाउने गरी सिकाइ क्रियाकला सञ्चालन गरिनु पर्दछ।

अनौपचारिक शिक्षाले व्यक्तिलाई आफ्नो खुबी र क्षमताको ज्ञान गराउँछ। ऊभित्र आत्मविश्वास पैदा गर्दछ। अनौपचारिक शिक्षालाई व्यक्तिको सीप र कलासँग जोड्नै पर्छ। जीवन व्यवहारका हरेक पक्षमा सजाउन सक्ने गरी उनीहरूको ज्ञानको सदुपयोग गराउने विधि प्रयोग गर्नुपर्दछ। मानिस उमेर सँगसँगै आफूलाई जान्ने सुन्ने ठान्दछ। यो उनको प्रकृति पनि हो र वास्तविकता पनि। हरेक व्यवहार ज्ञानका स्रोत हुन्। मानिसको परिपक्वता ज्ञानको अनन्त शृङ्खलाको योग पनि हो।

मानव जीवन सधैँ अवसर नचिनेर अवसरकै अभावमा पनि कुण्ठित बनिरहेको हुन्छ। शिक्षा प्राप्त गरेर पनि प्राविधिक ज्ञान, चेतना, कला र सिपका अभावले जीवनमा सहीरूपले सदुपयोग गर्न नसकिरहेका आजको यथार्थता हो भन्न पर्नुमा हाम्रो माटो सुहाउँदो शिक्षा नीतिको अभाव हो। अनौपचारिक शिक्षा त्यस्तो शिक्षा हो, जसले आफ्नोपनभित्रबाट चेतनाको दियो जगाउने प्रयास गरेको हुन्छ। यसले लगानी दुरुपयोग रोक्न र आफ्नो श्रोत साधन पहिचान गरी त्यसको सही सदुपयोग गर्न प्रेरित गर्दछ। आजको विज्ञान प्रविधिसँग आत्मसात् गरी त्यसलाई जीवन व्यवहारको उपयोगी पक्षको रूपमा प्रयोग गर्न सिकाउँछ।

यस्तो अवस्थाबाट पार पाउन र समग्र समुदायको रूपान्तरण अनौपचारिक शिक्षाको आधारबाट मात्र सम्भव छ भन्ने जनाउन पनि राज्यले यसमा प्राथमिकताका साथ लागु गर्न र निश्चित उपलब्धिका आधारमा मात्र प्रतिफल र मूल्यांकन गरिने परिपाटी अवलम्बन आवश्यक छ। यसको वास्तविक मर्म र दायित्वलाई जस्ताको तस्तै उजागर गरी जे बोलिन्छ, त्यही कार्यक्रममा समावेश गरी वस्तुवादी रूपमा यस क्षेत्रको विकास र विस्तारमा ध्यान दिई समाजवाद प्राप्तिको आधार स्तम्भको रूपमा यसलाई लिन सक्नुपर्छ। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्