किन गरिँदैछ हिन्दू दर्शन र देवताको अपव्याख्या ?

Bipin Sharma
विशेष गरी हिन्दू धर्ममा सर्वोच्व देवत्व त्रिमूर्ति अर्थात् ब्रम्हा (सर्जक /The Creator), विष्णु (पालक/The Preserver) र महेश्वर (विनाशक/The destroyer) मा रहेको ब्याख्या छ। अब हामीले यी त्रिदेव जसलाई हामी परमात्मा  (Supreme Being)  भन्छौं, उहाँहरुको अस्तित्व कहाँबाट सुरु भयो भनेर सोच्ने गर्छौं। यो संसारको सृष्टि अघि एउटा सम्भु अवस्था (Nothingness) थियो ।
लाेकपाटी न्यूज
0 Shares

– बिपिन शर्मा

हिन्दू धार्मिक ग्रन्थहरुको अध्ययन असाध्यै रहस्यमय, क्लिष्ट, अबोधगम्य अनि चामत्कारिक छ। बौद्धिक सनातनी ग्रन्थहरुको अध्ययन, चिन्तन मनन गर्नेहरु यसलाई विज्ञानको पराकाष्ठा भन्छन्। हिन्दू धर्म, यसका देवी देवताहरु र यसको लसमसमा गएर यससँग सम्बन्धित जति पनि कथाहरुकाे ब्याख्या गर्नु ठूलो चुनौतिको विषय हो। ग्रन्थहरुले राख्ने बहुआयमिक अर्थ र त्यसको विशाल स्वरुप, कठिन भाषा, अत्यन्त धेरै पात्रहरु र फरक–फरक समयमा घटेका घटनाहरु यसको मुख्य कारण हुन्।

पछिल्लो समय पाश्चात्य मुलुकहरुमा पनि यसको महत्व महसुस हुन थालेको देखिन्छ। तर कहिलेकाहीँ यस्ता ठूला ग्रन्थ र यसले राख्ने बहुआयमिक अर्थको महत्व नबुझी पूर्वबाट आएको सबै कुराहरु अन्धविश्वास र पश्चिमबाट आएको सबै कुराहरु विज्ञान भनेर अपब्याख्या गर्नुले सतही अध्ययनलाई प्रश्रय दिन्छ। तसर्थ, कुनै पनि कुरा हामीसँग सूचनाको हदसम्म मात्र छ या ज्ञानको हदसम्म पुगेको छ भनेर पर्घेल्नु चाहिँ महत्वपूर्ण हुन्छ।

विशेष गरी हिन्दू धर्ममा सर्वोच्व देवत्व त्रिमूर्ति अर्थात् ब्रम्हा (सर्जक/The Creator), विष्णु (पालक/The Preserver) र महेश्वर (विनाशक/The destroyer) मा रहेको ब्याख्या छ। अब हामीले यी त्रिदेव जसलाई हामी परमात्मा  (Supreme Being)  भन्छौं, उहाँहरुको अस्तित्व कहाँबाट सुरु भयो भनेर सोच्ने गर्छौं। यो संसारको सृष्टि अघि एउटा सम्भु अवस्था (Nothingness) थियो ।

त्यस बेलादेखि नै यी देवहरुको अस्तित्व थियो भनेर पूर्वीय दर्शनले भन्छ। यद्यपि यी तीन देवहरुको प्रकटीकरण बारे धेरै विवाद छ। तर, श्रीमद्भागवत अनुसार शिवको प्रकटीकरण ज्योतिर्लिङ्गबाट भयो जब विष्णु र ब्रम्हाबीच विवाद भएको थियो भनिन्छ। तर, शिवपुराण अनुसार शिवको अस्तित्व बिष्णु अघि नै थियो। त्यसैगरी ब्रम्हाको प्रकटीकरण पनि विष्णुको नाभिबाट उत्त्पन्न भएको कमलको फुलबाट भनिन्छ। तर, जे भनिए पनि शिवपुराण अनुसार हरेक सृष्टि र विनाशको चक्रमा यी तीन देवताहरु फरक फरक रुपले प्रकट हुन सक्छन् । कहिले शिव अघि देखा पर्न सक्छन् कहिले बिष्णु भने कहिले ब्रम्हा र कहिले त्यो भन्दा पनि फरक रुपले।

शिवपुराणमा यी त्रिदेवको मिलन संसार उत्पत्ति पहिला पनि भएको लेखिएको छ जतिबेला शिव ज्योतिर्लिङ्ग (Infinite tower of energy)  द्वारा प्रकट भए। विज्ञानले संसार उत्पति सम्बन्धि प्रतिपादन गरेको सिद्दान्त “Big Bang Theory” मा  “Nothingness” को अवस्थामा ठूलो शक्ति बिस्फाेट हुन्छ र ज्वाजल्यमान ज्योतिको उत्पति हुन्छ। र, त्यसको फैलावटमा अणु अणु मिलेर सृष्टि जगमगाउँछ भनिएको कुरा आजभन्दा ७५०० वर्ष पहिले बशिष्ठले महाभारतमा शान्ति पर्वको अध्याय ३०२ मा बशिष्ट र जनक को संबाद हुँदा जनकको प्रश्नमा कुरा गरिसकेका थिए ।

त्यसैगरि १८१९ मा जोन डाल्टनले प्रतिपादन गरेका अणुको सिद्दान्त अनुसार अणु नै सबैभन्दा सानो एकाइ हो, जसलाई टुक्रा पार्न सकिँदैन भने। तर, विज्ञानको अनिश्चितताको सिद्धान्त जस्तै त्यो कुरा गलत हो भन्ने कुरा त्यसपछिका अनुसन्धानहरुले पुष्टि गर्छ । तर, त्यो कुरा पनि पहिले नै महेत्रयले भागवतमा अणुभन्दा सानो परमाणु भएको गरेका थिए। अझ, व्यासले महाभारतमा द्रोण पर्वको बेला ‘अणोरअहियान महातोद्य महियान’ अर्थात् सानोमा अणुभन्दा पनि सूक्ष्म र ठूलोमा कल्पनाभन्दा पनि ठूलो चिज छ भनेका थिए। भलै जे भएपनि यसबाहेक हिन्दू देवताहरु र त्यससँग सम्बन्धित कुराहरुको अपव्याख्यालाई थोरै चर्चा गर्नु सान्दर्भिक हुन्छ।

धार्मिक ग्रन्थहरुको फरक समयमा फरक फरक रुपले ब्याख्या हुने गरेको छ। साथै हामी एउटा धर्ममा रहेर अर्को धर्मको कटाक्ष गर्दै उल्लास गर्ने, मेरो धर्म नै सही हो भन्ने गरे पनि तथ्यबाट भने टाढा भाग्न सक्दैनौं। त्यो भन्दै गर्दा एक महान् पश्चिमी दार्शनिकले ‘स्च्रिप्चर शुड नट वि ड्रीभन बाई हुमन वट हुमन शुड बि ड्रीभन वाई स्च्रिप्चर’ भनेका कुरा बुझ्नुपर्ने हुन्छ। धार्मिक मान्यताहरुलाई आफ्नो ढाल बनाएर आफ्नो प्रतिरक्षा गर्न बंग्याएर अर्काको झुटो प्रचार गर्नु, तथ्यपरक कुरा नगर्नु त्यति सान्दर्भिक हुँदैन ।अरुको उल्लास गर्न रुचाउनेहरु हिन्दू धर्मको अपव्याख्या यस किसिमले गर्दछन्।

ज्योतिर्लिङ्गको अपव्याख्या सर्वप्रथम लिङ्गको अर्थ पुरुषको जननेन्द्रीय भन्ने हुँदैन। लिङ्गमकाे अर्थ संस्कृतमा चिन्ह (Symbol) भन्ने हुन्छ त्यसैले ज्योतिर्लिङ्गलाई गुण अर्थमा सृष्टिको प्रक्रियासँग जोड्नुपर्ने हुन्छ। जस्तो कि हामीले पढेअनुसार यो सृष्टि नहुँदा वा शुन्य अवस्थामा हुँदा नोथिन्ग्नेसबाट समथिङ्ग आयो भनेर ‘सोफिस वर्ल्ड’ मा लेखिएको छ। त्यहाँबाट शक्तिको बिस्फाेट भयो भनेर ‘बिग व्याङ्ग थ्योरी’ले भन्छ र विस्फाेट पछि माथि उल्लेख गरे अनुसार सृष्टिको सुरुवात हुन्छ।

यसरी केही पनि नभएको अवस्थाबाट जुन कुराको सुरुवात भयो त्यही नै सृष्टिको संकेत हो, चिन्ह हो र लिङ्गको अर्थ त्यही हो। यही कुरालाई ज्योतिर्लिङ्गले प्रतिनिधित्व गर्छ। साथै शिवलिङ्गको त्यस आकारले प्रकृति र पुरुषको त्यो अपरिहार्यता र सामन्जस्यताको व्याख्या गर्छ। जुन नोथिन्ग्नेसको कुरा बिग ब्यांग थ्याैरीले गर्छ त्यसलाई पूर्वीय दर्शनले शम्भु अवस्था भन्छ जुन शिवको नाम पनि हो। यसर्थ, शिवको अस्तित्व सबै कुराभन्दा अघि, सबै भौतिक कुराहरु भन्दा बाहिर (beyond every physical thing) थियो।

शिवको भौतिक शरीरको अपव्याख्या

शिवजीको त्यो भयानक अवस्थिति हामीले धेरै आयामले हेर्नु पर्ने हुन्छ। शिवजीको त्यो विरूप ढंगको पात्रतालाई हामीले भौतिक रुपमा जे देख्याैं, त्यसको पछि लाग्नुभन्दा यसलाई बिम्वकाे रुपमा के सन्देश दिन खोजेको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। जस्तो कि शिवाजीले भस्म घस्नु हुन्छ। त्यसले जगतमा सबै कुराहरु क्षणभंगुर हुन्छन् कुनै कुरा स्थायी छैन। यसर्थ अनित्य कुरामा घमण्ड नगर भन्ने कुरालाई प्रतिविम्बित गर्छ।

शिवजीको जटाबाट बगेको गंगाले हामी गंगाजस्तै निरन्तर प्रवाहवान् भई गंगाजस्तै पवित्र मनले सकारात्मक बाटोमा अगाडि बढ्नुपर्छ भन्ने कुराको संकेत गर्छ । डमरु,उहाँको नर्तकीले हं र ऊँ साथै संगीतप्रतिको रस्वास्वदनको अनुभूत गराउँछ। सर्पको माला,बाघको छाला साथमै रहेको बहान गोरु लगायत कुराले यो जैविक विविधता र परिस्थितिक प्रणालीको व्याख्या गर्छ।

शिवको विष सेवनको अपव्याख्या

सधैं शिवजीले गाँजा, भांग र धतुरो खाएको कुरालाई एउटा विकृत मानसिकता भएको पात्रको रुपमा बुझ्ने गरिन्छ।अझ कटाक्ष गर्नेहरुले त भगवान नै त्यस्तो छ उसको अनुशरण गर्नेहरुले के सिक्छन् पनि भनिन्छ। शिवजीलाई एउटै कुराको नशा थियो, त्यो हो ध्यानको नशा। तर, गाँजा भाङ्ग धतुरोको सेवन र त्यसको अपव्याख्या भन्दा बुझ्नुपर्ने कुरा शिव आफैं यो सृष्टिको पति भएकोले संसारमा भएको सबै कुराहरु मेरा हुन् यहाँको सबै जैविक कुराहरु मेरै हुन् मलाई कुनै पनि कुराहरुले भस्म गर्न सक्दैन भन्ने अर्थमा सेवन गरेका हुन्। यो जैविक विविधता भएको संसारमा सबै कुराहरुको आ–आफ्नो अर्थ र महत्व हुन्छ। एक बिना अर्कोको अस्तित्व छैन। शिवजी आफैंमा देवेन्द्र (Chief of god ),पशुपति (chief of creatures ) भएकाले र आफैमा त्यति शक्तिशाली प्रलयकारी पात्र भएकोले ध्यानको एकाग्रताको लागि विष सेवन गरेको भनेर बुझ्नु पनि गलत हो।

मूर्ति पूजाको अपब्याख्या

ढुंगा पूजा गर्नुको अर्थ त्यही ढुंगा नै भगवान हो भन्नु पूर्णत गलत हो। मूर्तिलाई हामीले सांकेतिक अर्थमा लिनुपर्ने हुन्छ अर्थात् जतिपनि मुर्तिहरु छन्, त्यो तिनै भगवानहरुको प्रतिविम्ब हुन्। भगवानको कुनै भौतिक शरीर हामीले देखेका छैनौं। यसैले हामी सकारात्मक रहनु, सत्कार्य गर्नु, कसैकाे कूभलो नाचिताउनु लगायतका कुराहरु नै आफूभित्र भगवान हुनु हो। मूर्तिहरुको आराधना गर्नु, पूजा गर्नु त्यही साधना हो, जसले भगवानको स्मरण गराउँछ।

साधना र यसको महत्व

हजारौं वर्ष ध्यानमा बस्न सक्ने ध्यानको नशा भएका शिवजीबाट आज वैज्ञानिक युगले धेरै कुरा सिक्न पाएको छ। जीवविज्ञानको ५ इन्द्रीयको व्याख्यासँगै अहिले आधुनिक विज्ञानले शरीर (flesh)  भन्दा अलग रहेको मनलाई छैटौ इन्द्रीय भन्न थालेको कुरा यसैको उदाहरण हो। अहिले प्रविधि र विकासले चरम् पराकाष्ठा नाघिसकेको बेला यो विकासले मानिसलाई गाडी, बंगला, रोजगार, धनराशी त दिन्छ। त्यो सुखी हुनुको अनुभूति त दिन्छ तर खुशी अर्थात् चित्तशुद्धि रअन्तर्मनको शान्तिको लागि अर्को कुनै तत्व नभई हुँदैन। त्यसैले यो सुखी हुनु र खुसी हुनु बीचको यो मोटो धर्साको ब्याख्या योग, अध्यात्म, साधना र ध्यानले मात्र गर्न सक्दछ। पूर्वीय दर्शनले भनेजस्तो पूर्णताको अवस्था र बुद्धले भनेजस्तो त्यो शुन्यताको अवस्थामा पुग्न साधना बिना सम्भव छैन । त्यही नै शिवको विम्बात्मक प्रतिनिधित्व हो।

भगवान छन् या छैनन्, विश्वास गर्ने वा नगर्ने त्यो दुर्बाेध्यता, त्यो कठिनता मनमा पाल्नुभन्दा आफ्नो मनमा धार्मिक आध्यात्मिक दर्शनसहितको आस्था राखौं र त्यसैलाई जीवनशैली बनाई सकारात्मकताका साथ अगाडि बढौं। किनकि अध्यात्म र धर्म खाली पूजापाठ गर्नु मात्र होइन ।

– लेखक शर्मा आध्यात्मिक अनुयायी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्